नियम ११
जिल्ला कानूनी सहायता समितिको बैठकसम्बन्धी कार्यविधि
(१) जिल्ला समितिको बैठक प्रत्येक बर्षमा तीन पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र आवश्यक भएमा सोभन्दा बढी पटक पनि बैठक बस्न सक्नेछ ।
(२) जिल्ला समितिले आवश्यकता अनुसार कुनै विशेषज्ञलाई जिल्ला समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) जिल्ला समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा जिल्ला समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) जिल्ला समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) जिल्ला समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) जिल्ला समितिको बैठकको निर्णय समितिको सदस्य–सचिवले निर्णय पुस्तिकामा जनाई प्रमाणित गरी जानकारीको लागि सबै सदस्यहरूलाई उपलब्ध गराउनेछ ।
(७) जिल्ला समितिको बैठकसम्बन्धी अन्य कार्यविधि जिल्ला समिति आफैंले निर्धारण गरेबमोजिम हुनेछ ।